सिड्स कार्यक्रमको संयुक्त अनुगमन तथा समिक्षा

सुर्खेत, १४ पौष ।

स्ट्रोम फाउण्डेशनको सहयोगमा किर्डाक नेपालले सञ्चालन गरिरहेको दीगो तथा मर्यादित सामाजिक, आर्थिक सशक्तिकरण (सिड्स) कार्यक्रमको जिल्ला स्तरीय सरोकारवालाहरुद्वारा अनुगमन तथा समिक्षा गरिएको छ ।

सिड्स कार्यक्रम अन्तर्गत शुक्रबार वीरेन्द्रनगर १४ मा अनुगमन गरिएको हो । अनुगमनका क्रममा स्वाबलम्बन आमा समुहका सदस्यहरुसंग छलफलका साथै आमा समूहबाट ऋण लिएर तथा किर्डाक नेपालको अनुदानमा विभिन्न व्यवसाय गरिरहेका व्यवसायीहरुसंग अनुगमनका क्रममा भेटघाट  गरिएको छ । समूहका सदस्यहरुले भैंसी, बाख्रा, कुखुरा पालन तथा तरकारी खेति गरेको पाइएको छ । समूहबाट ऋण लिएर व्यवसाय गरेपछि आफूहरुलाई घर खर्च चलाउनुका साथै आम्दानी गर्न सजिलो भएको समूहका सदस्यहरुले बताए । कुखुरा पालन व्यवसाय गरेकी मनमाया बुढा मगरले किर्डाकले व्यवसाय सम्बन्धी तालिम र समूह मार्फत ऋण दिएपछि आम्दानी गर्न सफल भएको बताइन । यस्तै भैंसी पालन गरिरहेकी गंगा खत्रीले किर्डाकले व्यवसाय सम्बन्धी तालिम र ८० हजार अनुदान रकम दिएपछि व्यवसाय गर्न सजिलो भएको बताइन । यस्तै समूहमा आवद्ध महिलाहरुले मासिक रुपमा बचतगरी ऋण लगानी समेत गर्ने गरेका छन । समूह गठन गर्दा सुरुमा ५ रुपैँयाबाट बचत सुरु गरेकोमा अहिले व्यवसाय गर्न थालेपछि मासिक ५० रुपैँया बचत गर्ने गरेको फूलबारी स्वास्थ्य आमा समूहकी अध्यक्ष टिका रोकायले बताइन । उनका अनुसार समूहमा २९ जना सदस्य रहेका छन । ‘सबै सदस्यले कुनै न कुनै व्यवसाय गरिरहेका छन’ समूहकी अध्यक्ष रोकायले भनीन्,‘अहिले समूहबाट छ जनाले भैंसी पालन, आठ जनाले बाख्रा पालन,दुई जनाले कुखुरा पालन र एक जनाले व्यापारका लागि ऋण लिएका छन ।’

समूहले आफ्नो गाउँलाई खशी घर खुशी गाउँ पर्यटकीय क्षेत्रका रुपमा विकास गर्ने लक्ष्य लिएको छ । हाल समूहले वृक्षारोपण, विद्यालय भर्ना अभियान, बालविवाह न्यूनीकरण, सरसफाई, प्रत्येक घरमा भाँडा राख्ने चाङ सुधारिएको चुलो निर्माण कार्यलाई अभियानकै रुपमा सञ्चालन गरिरहेको छ ।

यसैबीच शुक्रबार नै जिल्ला स्तरीय परियोजना सल्लाहकार समितिको बैठकबसी स्ट्रोम फाउण्डेशनको सहयोगमा किर्डाक नेपालले सञ्चालन गरिरहेको दीगो तथा मर्यादित सामाजिक, आर्थिक सशक्तिकरण (सिड्स) कार्यक्रमको समीक्षा गरिएको छ । कार्यक्रममा जिल्ला समन्वय समितिका सदस्य बिरसिं घर्ती, बराहताल गाउँपालिकाका अध्यक्ष तेजबहादुर वस्नेत, वडा नं. ८ का अध्यक्ष मणिराज कार्की, जिल्ला समन्वय समितिका कार्यक्रम अधिकृत टंकप्रकाश लामिछाने ,जिल्ला कृषि विकास कार्यलयका यादव खत्री ,किर्डाकका कार्यक्रम संयोजक मेघराज न्यौपाने ,बेलचौर समुदायिक संस्थाका अध्यक्ष छबिलाल पौडेल, बेलचौर स्वाबलम्बन आमा समुहका कोषाध्यक्ष चन्द्रा गौतम लगायतको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *