बालविवाह विरुद्ध किशोरी आमा


सुर्खेत, ७ माघ ।
१८ वर्षिय आमा सृजना जोशी सुनार अहिले बाल विवाह विरुद्ध लागेकी छिन् । उनीसंग अहिले १७ महिनाको छोरा छ । सृजनाले १५ वर्षकै उमेरमा वीरेन्द्रनगरकै तेज बहादुर सुनार संग विवाह गरिन् । आफुलाई बाल विवाह र यसको असरबारे थाहा नहुदा सानैमा विवाह गरेको उनी बताउछिन् । बालविवाह गरेकै कारण आफु पछि परेको महसुस गरेको सृजनाले बताइन् । ‘सानैमा विहे गर्दा मेरो पढाई छुट्यो, जागिर खान पाएन, सानैमा आमा बन्दा शरिर कमजोर बन्यो,’ सृजनाले भनिन्, ‘सानैमा विहे गरेकोमा अहिले मलाई पछुतो लाग्छ, अचेल अरुलाई बाल विवाह नगर भनेर सिकाउछु ।’
हिंजोआज किशोरी संवाद केन्द्रमा अन्य किशोरी संगै बाल विवाह र यसका असरका बारेमा छलफल गर्ने सृजनाले बताइन् । उनले भनिन्, ‘बालविवाहको असर मैले भोगे, अरुले त्यो भोग्नु नपरोस भन्ने लाग्छ ।’ संवाद केन्द्रका किशोरीहरु घरदैलोमा, विद्यालयमा गएर बालविवाहका असरबारे बताउने गरेको उनले बताइन् ।
वीरेन्द्रनगरकै शुष्मा विक बालविवाहको विरुद्धमा लागेकी किशोरी हुन् । आफैले बालविवाह गरेकी शुष्मा अरुले आफुजस्तै सानैमा विहे नगरुन भनेर यसको विरुद्धमा लागेको बताइन् । ‘मैले थाहा नपाएर उमेर नपुग्दै विहे गरे, अरुलाई यसको असरबारे बताउ“दै आएकी छु,’ उनले भनिन्, ‘बालविवाह कानुन अनुसार गर्न मिल्दैन, आफैले पनि पछुताउनु पर्छ भनेर किशोरीहरुलाई सम्झाउने गर्छु ।’
जिल्ला प्रहरी कार्यालय सुर्खेतमा विगत पा“च आर्थिक वर्षमा बालविवाहका ७० घटना दर्ता भएका छन् । भने वीरेन्द्रनगरमा ६ वटा बालविवाह भएको घटना प्रहरीमा दर्ता भए । समाजमा बालविवाह घट्न नसकेपनि प्रहरीमा उजुरी भने कम मात्रै पर्ने गर्छ ।
बालविवाह रोक्नका लागि सरकारी र गैह्रसरकारी संस्थाका तर्फबाट विभिन्न प्रयास भईरहेका छन् । बालविवाह रोक्नका लागि किशोरीहरु पनि जुटेका छन् । आफैले बालविवाहको असर भोगेका किशोरीहरु अरुले आफुजस्तै समस्या नभोगुन भनेर बालविवाह विरुद्धमा लागेका छन् । त्यस्तै अर्की किशोरी हुन्, लक्ष्मी विष्ट । ‘बालविवाहले महिलालाई अगाडी बढ्न दिदैन, घरेलु हिंसा, बहुविवाह जस्ता अरु थुप्रै समस्या भोग्नु पर्छ, भनेर यसको विरुद्धमा लागेको उनी बताउ“छिन् । लक्ष्मी आफै उमेर नपुगि विहे गरेकी किशोरी हुन् । अहिले उनी १९ वर्ष पुगिन् । किशोरी संवाद केन्द्र मार्फत बालविवाहका बारेमा छलफल गर्नेगरेको लक्ष्मीले बताइन् ।
बालविवाहको विरुद्धमा संवाद केन्द्रका सबैजना लागेको सुनौलो किशोरी संवाद केन्द्रकी सहजकर्ता शोभा विकले बताइन् । किडार्क नेपालले सञ्चालन गरेको दिगो तथा मर्यादित सामाजिक आर्थिक शसक्तिकरण परियोजनाले दुई वर्ष अघि किशोरी संवाद केन्द्र गठन गरेको थियो । संवाद केन्द्रमा बालविवाह, बहु विवाह तथा घरेलु हिंसा जस्ता विषयमा छलफल गर्दा हिंसाको सुरुवात बाल विवाह भएको थाहा पाएको बांगेसिमल किशोरी संवाद केन्द्रकी सहजकर्ता सम्झना सुनारले बताइन् । बालविवाहको असर भोगेका र थाहा पाएका किशोरीहरु मिलेर बालविवाह विरुद्धमा लागेको सम्झना बताउछिन् ।
महिलामाथी हुने सबै हिंसा बालविवाहका कारण सुरु हुने भन्दै बालविवाह रोक्नुपर्ने वीरेन्द्रनगर नगरपालिकाकी उप—प्रमुख मोहनमाया ढकालले बताइन् । बालविवाह रोक्नका लागि किशोरीहरु सकृय हुनु राम्रो पक्ष रहेको उनी बताउछिन् । पछिल्लो समय किशोरकिशोरीले आफै विवाह गर्ने प्रवृती बढेकाले यसलाई रोक्न उनीहरुलार्ई बालविवाहको असरबारे बताउनुुपर्ने उप—प्रमुख ढकाल बताउछिन् ।
(कान्तिपुरबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *